अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२१ मंसिर २०७८, मंगलवार

काठमाडौं, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २९२ रुपैयाँ लिने गरेको र सो रकमबाट नासु पोखरेललाई ८ हजार दिने गरेको भेटिएपछि आयोगले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

आयोगको अनुसन्धानमा घुस लिएको प्रमाणित भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ । नासु पोखरेललाई ८ हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यस्तै, अख्तियारले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७