नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल


२१ मंसिर २०७८, मंगलवार
istockphoto 153865140
See also:

काठमाडौं, २१ मंसिर । भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिए । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो ।

मन्त्रालयका प्रवक्ता रेग्मीले नेपाल-भारत रेलवे निर्माण सम्झौतामा बथनाहा-कटहरी १८.६ किलोमिटरको दूरी उल्लेख छ । भारतीय पक्षले निर्माण सम्पन्न भइसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी नौ महिनाभित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विज्ञले सुझाव दिएका छन् ।

रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण भइसकेको छ ।

एसियाली विकास बैङ्कका परामर्शदाता श्याम दाहाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रविशङ्कर सैंजूले गत जुलाई-अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल ल्याउन सक्ने सम्भावना रहेको सुझाव दिनुभएको थियो । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिन थालेको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७