बैतडी जीप दुर्घटना : विवाहको १० दिनमै नव दम्पतिको मृत्यु


२१ मंसिर २०७८, मंगलवार

बैतडी, २१ मंसिर । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा नव दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको १० दिनअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा नव दम्पतिसहित पाँच जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पाटन बजारबाट कैलपाल हिँडेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा नव दम्पतिसहित १३ वर्षीय बालक विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई र ४० वर्षीया जानकारी भट्टराईले पनि ज्यान गुमाएका छन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ग्रामीण कच्ची सडकमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७