माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि, जनप्रदर्शन नगर्ने


२१ मंसिर २०७८, मंगलवार
mao

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रको आउँदो पुसमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन् । ११ पुसदेखि १३ सम्म माओवादी केन्द्रले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

सम्मेलनमा सहभागी हुन प्रत्येक प्रदेशबाट न्युनतम ३० जनाका दरले करिब ३ सय प्रतिनिधि छनोट हुने जनाइएको छ । बाँकी प्रतिनिधि केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद र विभिन्न आयोगबाट सहभागी हुने माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए ।

‘हामीले प्रतिनिधिमूलक रुपमा राष्ट्रिय सम्मेलन गर्न लागेका हौँ,’ नेता पोख्रेलले भने, ‘सम्मेलनमा जनप्रदर्शन हुँदैन । नीतिगत छलफल मात्रै हुन्छ ।’ माओवादी केन्द्रको दुई दिनअघि बसेको स्थायी समिति बैठकले १ हजार ५ सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निणर्य गरेको पोख्रेलले जानकारी दिए ।

केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद् सदस्य, अनुशासन, निर्वाचन र लेखा आयोगका सदस्य सम्मेलनका प्रतिनिधि रहने व्यवस्था माओवादीले गरेको छ । सम्मेलनले नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुंगो लगाउने माओवादीले जनाएको छ । प्रत्येक प्रदेशले कम्तीमा एक जना घाइते अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निणर्य माओवादीले गरेको छ । त्यसैगरी केन्द्रीय कार्यालयबाट ५ प्रतिशत मनोनीतसहित केन्द्रीय विभागबाट ३३ जना प्रतिनिधि हुनेछन् ।

माओवादीले सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई प्रतिव्यक्ति दुई हजार शुल्क तोकेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले खाने, बस्नेलगायत खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने निणर्य स्थायी समितिले गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जनका लागि माओवादीले देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरेको छ त्यसैगरी सम्मेलनमा प्रस्तुत गरिने समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेको व्यवस्थापन समिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७