दवाव बढाउँदै कांग्रेसका युवा नेता : सहमति नभए मतदानबाट सभापतिको उम्मेद्वार छनौट


२१ मंसिर २०७८, मंगलवार
ramchandra paudel group

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका युवा नेताले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेदवार तय गर्न हस्तक्षेपकारी भूमिका खेल्ने निणर्य गरेका छन् ।

आज (मंगलबार) बिहान काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा बसेको युवाको बैठकले देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्न दबाब दिने र दबाबले नपुगे हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निणर्य गरिएको हो ।

पौडेल-कोइराला प्यानलबाट चार आकांक्षी हुँदा प्रतिनिधिहरू निराश हुन लागेको निष्कर्षसहित नेताहरू आजै साझा उमेदवार चयनमा सफल नभए भोलिदेखि हस्तक्षेप शुरु गर्ने उनीहरूको तयारी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहबीच सभापतिका साझा उम्मेदवारका विषयमा छलफल गर्न आज दिउँसो १ बजे चाक्सीबारीमा केन्द्रीय सदस्यसहितको बैठक डाकिएको छ । त्यो बैठकमा सहमति नभए युवा नेताले आफ्नो भूमिकाको खोजी शुरु गर्नेछन् ।

केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार नेताहरू सहमतिमा नपुगे आजै साँझ बस्ने बैठकबाट युवाहरूको रणनीति तय हुनेछ । ‘हामी जिल्ला सभापति, पूर्व जिल्ला सभापतिहरू, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला आयोजना गरे उनीहरूका सुझाव सभापतिका आकांक्षीहरूलाई राख्न लाउँछौं’, गुरुङले युवा भेलाबारे भने, ‘त्यसमा उहाँहरू सहमत हुनु भएन भने युवाले नै तपाईंहरूमध्ये फलानो उमेदवार बन्नुस्, बाँकी अहिलेलाई मौन बस्नुस् भनेर सुझावका आधारमा भन्ने छौं ।’

उनले अहिले नै नेताहरूमा दबाब परिसकेकाले केन्द्रीय सदस्यहरूको रायानुसार नै नेताहरू सहमतिमा पुग्ने विश्वास व्यक्त गरे । छलफलमा सहभागी एक युवा नेताका अनुसार नेताहरू सहमत नभए प्रजातान्त्रिक विधिको प्रयोग गर्ने उनीहरूको तयारी छ । ‘उहाँहरू आफै बलियो छु, मै उम्मेदवार बन्नु पर्छ भनेर सबैले अडान राख्दै जानुभयो वा एकभन्दा बढी व्यक्तिले त्यो दाबी छोडेनन् भने हामी गोप्य मतदान गराएर को लोकप्रिय छ भन्ने छर्लङ्ग बनाएर भए पनि निणर्यमा पुग्ने तयारीमा छौं’, ती नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७