सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन चाक्सीबारीमा कांग्रेस इतर समूहको बैठक


२१ मंसिर २०७८, मंगलवार
congress meeting

काठमाडौं, २१ मंसिर । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार टुङ्गो लगाएर जाने सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको बैठक अहिले चाक्सीबारीमा शुरु भएको छ ।

सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त बैठक शुरु भएको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित सहभागी छन् । त्यसैगरी बैठकमा डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादव पनि उपस्थित छन् ।

बैठकबाट पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल भइरहेको छ । यसअघि बोहोराटारस्थित पौडेल निवासमा सोमबार साँझ बसेको संस्थापन इतर पक्षको बैठकमा आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाएर जाने सहमति गरेको थियो ।
सोमबारको छलफल सकारात्मक भएकाले मंगलबार संस्थापन इतर समूहको केन्द्रिय समिति बैठक बस्न लागेको हो । सोमबार बैठकमा वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । तीन नेताको सहमतिमा मंगलबार संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो ।

यसअघि सोमबारै बिहान गगन थापा र धनराज गुरुङसहितका युवा नेताहरुले इतर समूहबाट साझा उम्मेदवार छान्नै पर्ने निष्कर्षसहित नेताहरुमा दबाब बढाएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ ।
महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उम्मेदवार उठाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७