कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित निर्वाचनबाट १३४ जना चुनिँदै

मतदान प्रक्रियाबारे अझै अन्योल, काठमाडौंमा १० हजार झण्डा राखिंदै


२१ मंसिर २०७८, मंगलवार
congress flag tLsSchTHdS

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा शुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

काँग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस आधारमा झण्डै आठ हजार काँग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् । मुलुक संघीयतामा गएपछि काँग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ । पहिलोपल्ट काँग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ । प्रदेश-२ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ ।

६१ वटा जिल्ला र ६ वटा प्रदेशमा नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेस केन्द्रीय महाधिवेशनमा जुटेको हो । काँग्रेसको केन्द्रीय कार्यसमिति १३४ सदस्यीय हुनेछ । कोषाध्यक्ष बाहेक सबै निर्वाचित हुनेछन् । काँग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ । कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।

काँग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत आउने छन् । काँग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् । १३औं महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए । यसपटक १० जना थपिएको छ ।

यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट नौ, खस-आर्यबाट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक गरी १३४ जनाको निर्वाचन हुनेछ । केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।

कोभिड समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए ।

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भए पनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निणर्य गर्ने बताए । उनले यस पटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए । डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने बताए ।

काठमाडौंमा १० हजार झण्डा राख्दै काँग्रेस
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न शुरुवात गरिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए ।

महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७