रामचन्द्रका लागि छाडे शशांकले कांग्रेस सभापतिको दाबी

पौडेल भन्छन्, ‘साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौ’


२१ मंसिर २०७८, मंगलवार
ramchandra poudel

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा सभापतिको दावी छाडेका छन् ।
सभापतिका अर्का दाबेदार एवम् पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा आज (मंगलबार) दिउँसोदेखि जारी इतर समूहको बैठकबाट बाहिरिंदै उनले यस्तो सभापतिको दावी आफूले छाडेको जानकारी दिएका हुन् ।

इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन् । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडें । रामचन्द्रजीले पनि एक पटक मेरा लागि छोडिदिनु भन्नु भएको छ’, कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नु भएको छ ।’
पौडेल भन्छन्, ‘साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौ’
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । उनले त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निणर्य सार्वजनिक गर्ने बताए । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निणर्य भोलि बेलुका सार्वजनिक हुने बताए ।

‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौं । हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,’ पौडेलले भने, ‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्‍यौं । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौं भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।’

पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७