झाँक्रीको भर, रक्तश्रावबाट सुत्केरीको मृत्यु


२२ मंसिर २०७८, बुधबार

बाजुरा, २२ मंसिर । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली-४ तिथिचौरकी २१ वर्षीया गंगा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्म दिएको केही समयभित्रै चदारको मृत्यु भएको हो । चदारका श्रीमान् बिनेले भने, ‘गंगा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउने बित्तिकै पेट दुख्यो भनिन्, ‘केही समयपछि सुत्केरी भइन् तर, मृत्त शिशु जन्मियो ।’

चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गां गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीन पटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गंगालाई रक्तश्रावपछि स्वास्थ्य चौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्य चौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७