‘अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली’


२२ मंसिर २०७८, बुधबार

जुम्ला, २२ मंसिर । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।

पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफै दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।

प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् । विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शैंयाको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो । विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्‍याइरहेको छ । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ । यही मंसिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

राष्ट्रपतिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही मंसिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्ने उपकुलपति डा रावलले जानकारी दिए । करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ ।

कणर्ालीमा यही मंसिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी) मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ । विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ ।

यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ । बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा. रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिष्ठानमा विशेषज्ञ सेवा

प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा. रावलले बताए । छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापी जस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन् ।

न्यूरोलोजिष्ट डा. सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा. अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा. प्रवीण गिरी रहेका छन् । यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ । ‘हामीले कणर्ालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पुर्‍याइरहेका छौं’, डा रावलले भने, ‘अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौं । हामी सबै सेवा यहीँ दिन्छौं ।’

अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ । एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय-समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ ।

‘सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय-समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौं’, उनले भने, ‘वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ ।’ अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन् । यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताए । उनले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताए । पिछडिएको क्षेत्रकर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ ।

स्वास्थ्य सूचाङ्कमा प्रगति

कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ । प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो । प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ ।

यस्तै ६२.३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा. माधव चौलागाईले जानकारी दिए । जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ । उनले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताए ।

उनका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन् । यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन् । जनस्वास्थ्यविद् डा. चौलागाईले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताए ।

स्वास्थ्य अनुसन्धान केन्द्र

कणर्ाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ । सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ ।

उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ । यस्तै प्रतिष्ठानले आफै पनि जर्नल प्रकाशित गर्ने गरेको छ । कणर्ाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर चार/चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा. भट्टराई जानकारी दिए ।

चिकित्सकद्वारा नेपालगञ्ज पुगेर सेवा

कोरोना भाइरसको बेला कणर्ालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्जसम्म नै पुगेर बिरामीको उपचार गरेका थिए । नेपालगञ्ज कोरोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकित्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए । सघन उपचार विशेषज्ञ डा. गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी आई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए । यस्तै रुकुममा डा. अनुपमङ्गल समाल, मुगुमा डा. सिद्धार्थ खातीले कोरोना महामारीमा उपचार गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. रावलले कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कणर्ालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताउँछन् ।
उपकरण र सुविधाको अभाव

प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन । तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन् । यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ ।

विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए । यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ । जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन । यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ । उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ ।

चिकित्सक टिकाउन भने गाह्रो

चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ । चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेजलगायत अन्य सुविधा नहुँदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा. रावलले बताए ।

अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ । तर कणर्ाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ । अझै भवन बन्न केही समय लाग्छ । अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उनी बताउँछन् ।

कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताए । उनले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताए । ‘पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ’, उनले भने, ‘कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन् । कर्णालीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७