सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधि छनोट चुनावमै हारे


२२ मंसिर २०७८, बुधबार
Amresh Kumar

सर्लाही : सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधि चुनावमा हारेका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामानुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन् । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सिंहको समूह नै हारेको हो । त्यहाँ संस्थापन पक्षले ‘क्लिन स्वीप’ गरेको हो ।

नेता सिंह पक्षका नेता/कार्यकर्ता क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा हारेका हुन् । सर्लाहीमा क्रियाशील सदस्यताको फाराम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो । उक्त विवादले उग्र रुप लिँदा त्यहाँ पटक-पटक कार्यकर्ताबीच झडप भएका थिए भने प्रहरीले हवाइफायर नै गर्नुपरेको थियो ।

सिंहले यसअघि क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका थिए । त्यसपछि उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका थिए । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा उनीहरुले गरेका छन् ।

कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता–कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७