आफ्नो समूहको बैठक छाडेर पौडेल ‘सुटुक्क’ सिटौला निवासमा


२२ मंसिर २०७८, बुधबार
Ramchandra Poudel

काठमाडौं, २२ मंसिर । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर सुटुक्क चण्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भइरहेको बैठकबाट पौडेल खाना खान भनेर बाहिरिएका हुन् ।

महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ । आजको छलफलबाट सिटौलाले आफैंले उम्मेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निणर्य हुने बताइएको छ । सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ । सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन् । क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरु चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बनेको छ । जिल्लादेखि प्रदेशसम्म भएको देउवा-सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७