कम थापाद्वारा नव निर्वाचित राप्रपाको केन्द्रीय समितिको वैठक बहिष्कार


२२ मंसिर २०७८, बुधबार
kamal rajendra 1638323419

काठमाडौं, २२ मंसिर । राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिष्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका हुन् ।

बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् । उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् । थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए ।

निर्मल निवासबाट भएको हस्तक्षेप यो पहिलो घटना नभएको पनि थापाको भनाइ थियो । उनले निर्मल निवासमाथि आफूले चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताए थिए । ‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ’, थापाको भनाइ छ ।

‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’ तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी आफ्नो र राप्रपाको नै आधारभूत मान्यतामाथि नै गम्भीर आघात भने पुगेको थापाको दावी छ ।

राप्रपाका नवनिर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक बोलाएको जानकारी दिए । आज बैठकको एजेण्डा खासै नभएको बताउँदै नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको परिचयात्मक रहने उनको भनाइ छ । थापाको सहभागिता रहने या नरहने बारे आफूलाई थाहा नभएको बताउँदै उनले बैठकमा निवर्तमान अध्यक्ष डा .प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको सहभागिता रहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७