कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी : डब्ल्यूएचओ


२२ मंसिर २०७८, बुधबार
korona khop 1

काठमाडौं, २२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले अहिले विश्वभर प्रयोग भइरहेको कोरोना खोप नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न पनि सक्षम रहेको बताएका छन् ।

दक्षिण अफ्रिकाको प्रयोगशालामा गरीएको परीक्षणले फाइजरको खोप ओमिक्रोन भेरियन्टमा आंशिक मात्र प्रभावकारी देखाएको समाचार आएसँगै डब्ल्यूएचओले यस्तो बताएको हो । डब्ल्यूएचओका डाक्टर माइक रयानले अहिलेसम्म कोरोना खोप अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा कम हुने कुनै संकेत नदेखिएको बताएका छन् ।

रयानले भने, ‘हामीसँग धेरै प्रभावकारी खोप छन्, जुन गम्भीर बिरामी र अस्पतालमा भर्ना हुनेको संख्या घटाउन अहिलेसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन् । त्यसैले ओमिक्रोन विरुद्ध यसको असर कम होला भनेर सोच्नुपर्ने कुनै कारण छैन ।’

रयानले ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा धेरै संक्रामक पाइए पनि संक्रमितहरुमा गम्भीर लक्षण भने नदेखिएको बताएका छन् । दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानको एक हिस्सा रहेका एलेक्स सिंगलले पनि अहिले उपलब्ध खोपहरू प्रभावकारी रहेको भन्दै बुस्टर डोज दिनु ओमिक्रोनको संक्रमणविरुद्ध महत्वपूणर् कदम हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७