कांग्रेस महाधिवेशन : विजय गच्छदारले देखाए उपसभापति दोहोर्‍याउने इच्छा

देउवालाई भने, ‘मलाई उचित स्थान दिनुपर्छ’


२२ मंसिर २०७८, बुधबार
Bijaya kumar gachhadar

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आसन्न महाधिवेशनमा पनि उपसभापति पद दोहोर्‍याउने इच्छा व्यक्त गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा आज (बुधबार) बसेको संस्थापन पक्षको बैठकमा गच्छदारले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवासँग आफ्नो उम्मेदवारीबारे जानकारी गराएका हुन् ।

‘मलाई उचित स्थान दिइनु पर्छ । तपाईहरु सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ’, सभापति देउवासँग उनले आग्रह गरेका थिए । त्यसअघि प्रधानमन्त्री देउवाले कुन-कुन पदमा क-कसले उम्मेदवारी दिने भन्ने जिज्ञासा राखेका थिए । उनी निकट नेताहरुका अनुसार गच्छदारले उपसभासतिमा दोहोर्‍याउने छन् । उनका निकट कार्यकर्ताहरुले भोटका लागि लबिङ समेत गरिरहेका छन् । बुढानिलकण्ठमा बसेको बैठकमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले महामन्त्रीका लागि दाबी गरेका थिए । उनीहरु सबैले देउवा समक्ष आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेसको सबै गुटमा आकांक्षीहरु धेरै भएपछि शीर्ष नेतालाई उम्मेदवार टुंग्याउन सकस परेको छ । सभापतिसहित पदाधिकारीमा कुनै गुटले पनि उम्मेदवारी टुंगो लगाउन सकेको छैन । पौडेल समूहले उम्मेदवार टुङ्गो लगाउनकै लागि प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बैठक बसेका छन् । पदाधिकारीका लागि उम्मेदवारको टुङ्गो लगाउनेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७