पौडेल पक्षमा साझा उम्मेद्वारकै सकस, पर्ख र हेरको रणनीतिमा देउवा

भृकुटीमण्डपमा ४० लाखको मञ्च, पाँच ठाउँमा पार्किङ, यसरी मिलाइँदैछ ट्राफिक व्यवस्थापन


२३ मंसिर २०७८, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा भोलि (शुक्रबार) देखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यस्तै सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकांक्षीबीच कुरा मिल्न नसक्दा सहमति हुन सकेको थिएन ।
आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने यो समूहका नेताहरुले बताएका छन् । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् ।

हिजो शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिएका थिए । पार्टी र सत्ताको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंक गणितमा समेत बलियो बनेपछि यो समूहलाई देउवाविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । देउवा भने संस्थापन बाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा देखिएका छन् ।
पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

महाधिवेशनका लागि काँग्रेसले संघीय राजधानी काठमाडौंको मुटु भृकुटीमण्डप रोजेको छ । जसका लागि मञ्च निर्माण तथा अन्य प्रचार प्रसारको तीव्र बनाएको छ ।

07 congress 9 W0o5NCKZNM

भृकुटीमण्डप लगायत आसपासका क्षेत्रमा काँग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा टाँगेर चुनावी माहोल बनाइरहेको छ भने महाधिवेशन स्थलमा मञ्च निर्माणमा पनि पार्टी पंक्ति जुटेको छ । बुधबार साँझ सम्ममा भृकुटीमण्डपको प्रमुख गेट महाधिवेशन केन्द्रीत प्रचार-प्रसारका ब्यानरले भरिभराउ छन् । संस्थापन र इतर दुवै पक्षमा पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवार नटुङ्गिए पनि नेताहरूले आफूखुशी प्रचार सुरु गरेका छन् ।

अर्कातर्फ शुक्रबार हुने उद्घाटन सत्रका लागि करिब २५० देखि ३०० सय जना बस्न मिल्ने मञ्च तयार भइरहेको छ । जसका लागि काँग्रेसले ३५ देखि ४० लाख खर्च हुने अनुमान गरेको छ । मञ्च व्यवस्थापन तथा प्रचार-प्रसार विभाग संयोजक तथा काठमाडौं जिल्ला सचिव गोविन्द कम्पनीकाअनुसार बुधबार साँझसम्ममा मञ्च निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । मञ्च निमाणर्का लागि तीन दिनदेखि ४० जनाले निरन्तर काम गरिरहेका छन् । मञ्च निमाणर्को काम निरन्तर भैरहेको निर्माणको ठेक्का पाएका रोशन जैशवालले जानकारी दिए । उनले कामको स्तर अनुमान गर्दा काँग्रेसले मञ्च निर्माणका लागि छुट्ट्याएको रकममा दोब्बर वा तेब्बर खर्च बढ्न सक्ने अनुमान गरे ।

नेपाली काँग्रेसको १४औं महाधिवेशन शुरु हुन अब एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन शुरु गरेका छन् । २४-२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।

ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुवै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरिपरिको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौं । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौं’, उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौं । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरिपरि खटिन्छन् । यो नर्मल अवस्था भन्दा बढी हो ।’

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो । ‘योभन्दा अगाडि ठुला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौं । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उनले भने ।

असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरू सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरू गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’ एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुने गरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ ।
एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ । टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ । ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७