पुबुदुलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति गर्ने तयारी


२३ मंसिर २०७८, बिहीबार
pubudu dassanayake

काठमाडौं, २३ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकाका पूर्व क्रिकेटर पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । क्यान स्रोतका अनुसार नेपालका पूर्व मुख्य प्रशिक्षक समेत रहेका दासानायकेलाई पुनः राष्ट्रिय टोलीको जिम्मा दिन लागिएको हो ।

‘दासानायकेलाई नियुक्ति गर्ने सम्भावना बलियो छ । तर, यसको अन्तिम टुंगो भने लाग्न बाँकी छ, ’क्यान स्रोतले भन्यो, ‘अब केही दिनमै सबै कुरा टुंगिने छ । नेपालको राष्ट्रिय टोलीले छिट्टै नयाँ प्रशिक्षक पाउने छ ।’ नेपालले सन् २०२२ को शुरुमै आईसीसी टीट्वेन्टी विश्वकप छनोट खेल्ने तालिका छ । त्यही कारण जतिसक्दो चाँडो मुख्य प्रशिक्षक नियुक्ति गर्ने अभियानमा क्यान लागेको छ ।

क्यानले मुख्य प्रशिक्षकको लागि खुला आवेदन मागेको थियो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले उत्कृष्ट १५ जनाको अन्तर्वार्ता पनि लिएको थियो । यसअघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टीट्वेन्टी विश्वकप खेलेको थियो । त्यही कारण उनलाई नेपालको सफल क्रिकेट प्रशिक्षका रुपमा लिइन्छ ।

पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकका रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण देखाउँदै पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए । मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट मुख्य प्रशिक्षकविहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एक दिवसीय श्रृंखलापछि वाटमोरले राजीनामा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७