पौडेल कांग्रेस केन्द्रीय समिति वैठकमा गएनन्, सहमहामन्त्री थप्ने योजनाबाट पछि हटे देउवा


२३ मंसिर २०७८, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २३ मंसिर । कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि (ब्याक) हटेको छ । १४ औं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नहुने भएको एक नेताले जानकारी दिए । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिदेखि केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।

तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल अघि बढेको थियो । संस्थापन समूह र संस्थापन बाहेक समूहमा आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ ।

कांग्रेसको विधानमा महिला, दलित, आदिवासी-जनजाति, मुस्लिम, थारू, मधेसी, खस-आर्य र पिछडिएको क्षेत्रबाट ८ जना सहमहामन्त्रीको व्यवस्था छ । उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन ।

कांग्रेस विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष (मनोनीत) गरी १४ जना पदाधिकारी रहने व्यवस्था छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट एक-एक महिलासहित २१ जना चुनिन्छन् । संस्थापन र संस्थापन बाहेक समूहको सहमति नजुटे विधान संशोधन हुन सक्ने अवस्था छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७