उच्च आयातले तरलता र विदेशी मुद्रा सञ्चितिमा दबाब : गभर्नर


२३ मंसिर २०७८, बिहीबार

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातले तरलता र विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले चालु आर्थिक वर्ष लागेपछि ४११ अर्बको कर्जा प्रवाह हुँदा ५० प्रतिशत कर्जा आयातमा फाइनान्स भएको बताए ।

‘साउनयता ४११ अर्बले कर्जा विस्तार हुँदा निक्षेप ६४ अर्ब मात्रै बढेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार साढे तीन अर्ब बढी छ, जसले तरलता अभाव भयो’, उनले भने, ‘विस्तार भएको कर्जामा अधिक कर्जा आयातमा गयो, करिब ५० प्रतिशत कर्जा आयात फाइनान्समा गयो । कर्जा विस्तार भए पनि नेपालभित्र बसेन, जसको असर तरलतामा पर्‍यो ।’

आयात वृद्धिले सञ्चितिमा पनि दबाब बढेको उनले बताए । आयात बढ्दै जाँदा सञ्चिति घढ्दै गएको उनको भनाइ छ । ‘सञ्चिति प्रि कोभिडको भन्दा राम्रो भए पनि उच्च आयातले सञ्चिति पर्याप्तता सूचक कोभिड अगाडिको अवस्थामा आएको छ र निरन्तर घटिरहेको छ’, उनले भने, ‘रेमिट्यान्स पसि गत वर्षको यही अवधिको तुलनमा घटेको देखिए पनि मासिक औसत ८० अर्ब छ, जुन गत वर्षकै हाराहारी हो । कोभिड अगाडि ७२ अर्ब रहेकोमा बढेको छ । तर, उच्च आयातले गर्दा सबै क्षेत्रमा समस्या भयो, आयात बढ्दा सबै कुरालाई हिट गर्‍यो ।’
उनले चालु आवको मुद्रास्फीति निर्धारित लक्ष्य ६.५ प्रतिशतमा राख्न चुनौती बन्दै गएको बताए । बाह्य दबाब र बाढी-पहिरोले कृषि उत्पादनमा परेको असरले मुद्रास्फीतिमा दबाब पर्ने अवस्था देखिएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले तरलता समस्या समाधान गर्न चालु आवमा राष्ट्र बैंकले साउन २३ गतेयता २३ खर्ब ८६ अर्ब तरलता बजारमा पम्प गरेको र जसमध्ये मेजर हिस्सा स्थायी तरलता सुविधा एसएलएफको रहेको बताए । गएको शुक्रबार स्थायी रूपमा समाधान गर्न आफैंले स्टुमेन्ट जारी गरेर नौ अर्बमाथिको तरलता बजारमा बढाएको उनले जानकारी दिए । तरलता समाधानको लागि अहिले राष्ट्र बैंकबँग भएको स्टुमेन्ट प्रयोग भएको उनले उल्लेख गरे ।

उनले अहिले ब्याजदरमा खासै उतारचढाव नरहेको पनि बताए । मंसिरमा कर्जाको ब्याजदर ९ प्रतिशत नाघ्ने देखिएको उनले बताए । हाम्रो जस्तो देशमा ब्याजदर ९/१० प्रतिशत हुँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको भन्दै ब्याजदर कम हुँदा आयात बढ्ने र अन्य क्षेत्रमा पैसा जाने उनले बताए । उनले आन्तरिक ऋण नउठाउनुका कारण तरलताको दबाब पनि भएको बताए । कोभिडपछि बैंकहरूको सम्पत्तिको गुणस्तर खस्केको र कोभिडको असर समाप्त भएपछि त्यसलाई एसेस्टमेन्ट गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७