आत्तिनु पर्दैन म सभापतिको दौडमै छु, मैदान छाडेको छैन : शेखर कोइराला


२३ मंसिर २०७८, बिहीबार
shekhar koirala

काठमाडौं, २३ मंसिर । कांग्रेसको संस्थापन इतर समूहबाट साझा उम्मेदवार टुङ्गो लगाउन हम्मे परिरहेका बेला डा. शेखर कोइरालाले आफू सभापतिको दौडमै रहेको र मैदान नछाडेको बताएका छन् । यसअघि प्रकाशमान सिंहले पनि सभापतिमा दाबी नछाडेको बताएका थिए ।

केन्द्रीय कार्यालय सानेपामा कार्य समिति बैठकपछि बाहिरिएका शेखरलाई महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले संस्थापनइतर समूहमा मिल्न भन्दै दबाब दिएका थिए । कार्यकर्ताको घेराउ परेका शेखरले उनीहरुलाई नआत्तिन भन्दै आफू दौडमै रहेको बताए ।

जसरी पनि मिल्नु पर्छ भन्दै साझा उम्मेदवार चाहियो भनिरहेका कार्यकर्तालाई शेखरले भने, ‘अहिले नै आत्तिनु पर्दैन, आए एम स्टिल अन रेस ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि मैदान खाली गरिदिएको चर्चा भइरहेका बेला कोइरालाले आफू अझै पनि सभापतिको दौडमै रहेको बताएका हुन् । यता शेखर कोइराला निकट एक नेताले भने कांग्रेसको संस्थापन इतर समूहमा छलफल जारी नै रहेको बताए ।

शेखरलाई जिल्ला सभापतिका तीन सुझाव
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले आफू निकट जिल्ला सभापतिहरूसँग सुझाव लिएका छन् । बिहीबार बिहान काठमाडौंको एक पार्टी प्यालेसमा जिल्ला सभापति तथा पूर्वसभापतिहरू भेला गरेर डा. शेखरले सुझाव लिएका थिए । त्यसक्रममा जिल्ला सभापतिहरूले तीनवटा सुझाव डा. शेखरलाई दिएका छन् ।

भेलामा सहभागी एक निवर्तमान जिल्ला सभापतिका अनुसार अधिकांशले सभापतिको उमेदवारका लागि अघि बढ्न सुझाव दिएका छन् । ‘धेरैजसो जिल्ला सभापतिले शेरबहादुरलाई हराउन अरूको भन्दा डा. शेखरकै नेतृत्वमा सहज हुने सुझाव दिनुभएको छ’, उनले भने, ‘त्यस बाहेक तपाईं नेता हो, प्रकाशमानसहितलाई मिलाउनुस् भन्ने छ ।’

केन्द्रीय सदस्यको आकांंक्षी समेत रहेका ती नेताका अनुसार कुनै उपाय नलागे फेरि पनि वरिष्ठ नेता रामचन्द्र पौडेलकै नेतृत्वमा टिम बनाएर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने सहभागीहरूले बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७