माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा अब नौं जना, सदस्य संख्या पनि थपियो


२३ मंसिर २०७८, बिहीबार
Krishna Bahadur Mahara

काठमाडौं, २३ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीमा संशोधन गर्ने निणर्य गरेको छ । आज (बिहीबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारी संख्या दुई जना बढाएर नौ जना बनाउने निणर्य गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रदेशमा अब एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था हुनेछ । यसअघि प्रदेशमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था थियो । पार्टीले एक उपाध्यक्ष र एक सहसचिव थप गरेको हो ।

यस्तै बैठकले प्रदेश अनुसार कार्यसमितिलाई पनि संशोधन गर्ने निणर्य गरेको छ । यसअघि हरेक प्रदेशमा १७५ जना सदस्य रहने गरेको भनिए पनि बिहीबारको बैठकले त्यसलाई संशोधन गर्दै प्रदेशअनुसार फरक संख्याको कार्यसमिति बनाउने भएको हो । प्रवक्ता महराका अनुसार प्रदेश-१ मा २५९, प्रदेश-२ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कार्यसमिति रहेनछ ।

पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताए । बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखको जिम्मेवारी ऊर्जामन्त्री समेत रहेकी पम्फा भुसाललाई दिएको छ । विभागका बाँकी पदाधिकारी को टुंगो पछि लगाउने तय भएको प्रवक्ता महराको भनाइ छ । माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७