अर्थका तत्कालीन शाखा अधिकृतविरुद्ध एक करोड ६५ लाखको भ्रष्टाचार मुद्दा


२३ मंसिर २०७८, बिहीबार

काठमाडौं, २३ मंसिर । अर्थ मन्त्रालयका एक तत्कालीन अधिकृतविरुद्ध एक करोड ६५ लाख रूपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । पदको दुरुपयोग गरी अकूत सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले आफू विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । अख्तियारको जाँचमा थपलिया सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४० फागुन ६ देखि अवकाश भएको २०७५ चैत ३० सम्म वैध एक करोड २ लाख ८२ हजार रुपैयाँ र अवैध एक करोड ५४ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको खुलेको छ ।

थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले विगो एक करोड ६४ लाख ८९ हजार कायम गरेर मुद्दा चलाइएको हो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम त्यही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग दाबी भएको छ ।

जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिसमेत असुल उपर-जफत गर्न अख्तियारले माग गरेको छ । थपलिया पत्नी मुना पन्त थपलियाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुको रकम लगायतको पनि स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ । उनलाई प्रतिवादी बनाई अवैध सम्पत्ति जफत गर्न अख्तियारले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७