४ पुसदेखि ५७ जिल्लाका बालबालिकालाई विद्यालयमै कोरानाविरुद्धको खोप


२४ मंसिर २०७८, शुक्रबार
moderna covid 19 vaccine

काठमाडौं, २४ मंसिर । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड- १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूणर् विद्यालयबाटै दिन लागेको हो ।

लक्षित समूहमा पर्ने बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले भने ।

कोभ्याक्स सुविधामार्फत बिहीबार मात्रै मोडर्नाको १४ लाख ४७ हजार ६ सय डोज खोप आएको छ । यसअघि एक लाख ८८ हजार डोज आएको थियो । आइतबार १९ लाख ६५ हजार ६ सय डोज आउने दाहालले बताए । यी सबै कोभ्याक्स सुविधाको निःशुल्क खोप हो । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार मोडर्नाकै थप ४० लाख डोज खरिद गरेर ल्याउन लागिएको छ ।

४ पुसदेखि यी ५७ जिल्लाका सबै विद्यालयमै लगाइन्छ मोडर्ना खोप
इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, म्याग्दी, मुस्ताङ, लमजुङ, पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, मनाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवरपरासी पश्चिम, कपिलवस्तु, बर्दिया, डोल्पा, रुकुम पश्चिम, सल्यान, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला ।

फाइजर खोप दिएको २० जिल्लामा तत्काल मोडर्ना नदिने
यसअघि फाइजरको खोप दिइएको २० जिल्लामा तत्काल मोडर्ना दिइने छैन । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा फाइजरको खोप दिएको थियो ।
१२ देखि १७ वर्ष उमेरका बालबालिका र १२ वर्षमाथिका सबै दीर्घरोगीलाई उक्त खोप दिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख ६ सय २० डोजले ती जिल्लाका सबै बालबालिकालाई भने नपुगेको पनि उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७