कांग्रेसको १४ औं महाधिवेशन आजदेखि, यस्तो छ कार्यसूची


२४ मंसिर २०७८, शुक्रबार
Pro Ktm congress stage1

काठमाडौं, २४ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाट्नको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् । कोभिड-१९ महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने उनले बताए ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित चार जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए । उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको छ । उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ-आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ ।

यस महाधिवेशनमा ४,७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि महाधिवेशनसम्बन्धी आवश्यक विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निणर्य मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ । काँग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिने छ ।

यसैगरी महाधिवेशन तयारीका लागि विहीबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूणर्बहादुर खड्काले प्रस्तुत गरेको महामन्त्रीको प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

बैठकले १४ औं महाधिवेशन तयारीका क्रममा केन्द्रीय कार्यसमितिको निणर्यबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निणर्य अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निणर्य पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७