बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकै दिनमा ४५ प्रतिशतले वृद्धि


२४ मंसिर २०७८, शुक्रबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं, २४ मंसिर । बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

बिहीबार एकै दिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छन् ।

नयाँ भाइरसको प्रभाव बढेसंगै यसको प्रभाव कम गर्न सरकारले कडा प्रतिबन्ध लागू गर्ने भएको छ । शुक्रबारबाट थिएटर लगायतका स्थानमा फेस मास्कको अनिवार्य प्रयोग, निश्चित स्थानमा कोभिड पासको व्यवस्था तथा सम्भव भए घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ ।
यसैगरी बेलायतमा दैनिक संक्रमण दर ५० हजार भन्दा माथि रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बिहीबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ८६७ संक्रमित फेला परेका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ६६ लाख ९८१ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४८ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार १३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ८१३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ३४७ रहेको छ । यस्तै ८९० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । संक्रमण दर उच्च भएपनि अस्पताल भर्ना हुनेको संख्यामा भने वृद्धि भएको छैन ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ११ करोड ९५ लाख ३९ हजार १९८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ११ लाख ८३ हजार ४५७ जना अर्थात ८९ प्रतिशतले खोपको पहिलो डोज र चार करोड ६६ लाख ४० हजार २३७ जना अर्थात ८१.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी खोपको तेस्रो अर्थात बुस्टर डोज लगाउनेको संख्या दुई करोड १७ लाख १५ हजार ५०४ अर्थात ३७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा चार लाख भन्दा बढीले बुस्टर डोज लगाएका छन् । दैनिक पाँच लाख भन्दा बढीलाई बुस्टर डोज लगाउने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७