लेनदेन विवादमा साथीको हत्या गर्ने दुई जना पक्राउ, यसरी भयो घटना


२४ मंसिर २०७८, शुक्रबार
123 sUNQ2Xw6jP

भक्तपुर, २४ मंसिर । दुई दिनअघि भक्तपुर बालकोटका एक युवाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंसिर २१ गते राति पौने १० बजे सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित हनुमन्ते खोला किनारमा दुई जनाले कुटपिट गरी स्थानीय ३३ वर्षीय राजन श्रेष्ठको हत्या गरेका थिए ।

राजनको हत्या घटनामा संलग्न रहेको आरोपमा उनका साथीद्वय भक्तपुरकै २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङको लेटाङ घर भई बालकोटमा बस्दै आएका ३० वर्षीय प्रेम विश्वकर्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

लेनदेन विवादमा श्रेष्ठ र विश्वकर्माले पूर्व योजना अनुसार हनुमन्ते खोला किनारमा पुर्‍याएर राजनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानले घटना हुनुभन्दा दुई दिन अगाडि देखि नै राजन श्रेष्ठलाई हेमन्त श्रेष्ठले प्रेम बिश्वकर्मासँग सल्लाह गरी हत्याको योजना बनाएको देखाएको छ ।

सोही योजनाअनुसार मंसिर २१ गते राति गठ्ठाघरस्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठले सँगै बसेर चिया खान्छन् । डीएसपी पाण्डेका अनुसार चिया खाँदै गर्दा हेमन्त श्रेष्ठले राजन श्रेष्ठलाई ‘हनुमन्ते खोला पारी दाइ पैसा लिएर आएको छ, त्यहाँसम्म जाउँ’ भन्ने अनुरोध गर्छन् । राजन हेमन्तकै मोटर साईकलमा चढेर राजन पनि घटनास्थल नजिकैको फलामे पुलसम्म पुग्छन् ।

त्यहाँबाट दुबै जना बालकोट जाने बाटोतर्फ पैदल हिँड्छन् । अँध्यारो ठाउँमा हिँड्दै गर्दा एक्कासी पछाडिबाट प्रेम बिश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गर्छन् । राजन जमिनमा पछारिन्छन् । त्यसपछि दुबै मिलेर पटक-पटक राजनलाई प्रहार गर्छन् ।

घटनास्थल नजिकै बस्ने स्थानीयले कुटपिट गरिरहेको देखेपछि प्रहरीलाई खबर गर्छन् । महानगरीय प्रहरी वृत्त थिमीबाट प्रहरी टोली घटनास्थल पुग्दा आरोपी दुबै भागिसकेका हुन्छन् । गम्भीर घाइते राजनको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए । साथीको हत्यापछि फरार भएका विश्वकर्मालाई घटनाको भोलिपल्ट काठमाडौंका जोरपाटीबाट र श्रेष्ठलाई मध्यपुर अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७