कांग्रेस महाधिवेशनमा भाग लिन भारतीय नेताहरू आइपुगे काठमाडौं, ममता बेनर्जी आइनन्


२४ मंसिर २०७८, शुक्रबार
harsabardhan haris sudhindra Ai8C2EpuNc

काठमाडौं, २४ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको आज (शुक्रबार) उद्घाटन हुने १४औं महाधिवेशनमा भाग लिन भारतका सत्तारुढ र प्रतिपक्षी दलका नेता काठमाडौं आइपुगेका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धन तथा अर्का सांसद हरिश द्विवेदी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन काठमाडौं आइपुगेको कांग्रेसले जानकारी दिएको छ । हर्षवर्धन र द्विवेदी यसअघि हालै चितवनमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशनमा पनि सहभागी भएका थिए ।

यस्तै कांग्रेसको महाधिवेशनमा सहभागी हुन भारतको प्रतिपक्षी दल इण्डियन नेसनल कंग्रेसका महासचिव मुकुल वस्निक काठमाडौं आएका छन् । उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा शसक्तीकरण मन्त्री थिए ।
यस्तै कांग्रेस महाधिवेशनमा सहभागिताका लागि भारतको अर्को राजनीतिक दल बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि काठमाडौं आइसकेका छन् ।
ममता बेनर्जीले पाइनन् अनुमति
यस्तै अल इण्डिया त्रिणमूल कंग्रेसका नेता मुलुक रोय पनि नेपाल आइपुगेका छन् । तर नेपाली कांग्रेसले निम्तो पठाएको भए पनि त्रिणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी भने आउन पाइनन् । कारण- उनलाई भारतको केन्द्रीय सरकारले नेपाल भ्रमण गर्ने अनुमति नदिएको हो ।
बंगलादेशकी प्रधानमन्त्रीले पठाइन् शुभकामना
नेपाली कांग्रेसले बंगलादेशकी प्रधानमन्त्री एवं सत्तारुढ अवामी लिगकी अध्यक्ष शेख हसिनालाई पनि महाधिवेशनमा आउन निमन्त्रणा गरेको छ । तर उनले उतैबाट कांग्रेसलाई शुभकामना सन्देश पठाएकी छन् ।

mamata

उनले नेपाली कांग्रेसले बंगलादेशको स्वतन्त्रता संग्राममा गरेको महत्वपूणर् योगदानको स्मरण गरेकी छन् । बंगलादेशको स्वतन्त्रता संग्राममा कांग्रेसले त्यहाँको विद्रोही मुक्ति बाहिनीलाई हतियार पठाएर सहयोग गरेको थियो । शैलजा आचार्य, चक्रप्रसाद बाँस्तोलालगायत नेपाली कांग्रेसका नेता बंगलादेशको मुक्ति आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिए । त्यसैगरी कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि महाधिवेशनका लागि निमन्त्रणा पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७