नन्कुन्नी धोबी र निर्मला कुर्मीको पक्षमा अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस गर्ने


२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं, २४ मंसिर । एसिड आक्रमणपीडित पवित्रा कार्कीलाई निःशुल्क कानुनी सहयोग गरेर चर्चा कमाएकी अधिवक्ता राधिका खतिवडाले नेपालगञ्जका नन्कुन्नी धोवी र निर्मला कुर्मीको हत्याका दोषी पत्ता लगाउन निःशुल्क न्यायिक लडाई लड्ने भएकी छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार हराएर त्यसको खोजीमा बाँकेबाट काठमाडौं आएका रुवी खानहरुको अभियानमा साथ दिन निःशुल्क बहस गर्ने र न्यायको लागि लडिरहने प्रतिबद्धता खतिवडाले ब्यक्त जनाएकी हुन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अन्यायमा परेका धोवी र कुर्मीलाई न्याय दिलाउनका लागि आफू निःशुल्क कानुनी लडाई लड्ने प्रण गरेको अधिवक्ता खतिवडाले बताइन् ।

अधिवक्ता राधिका खतिवडा

नेपालगञ्जका नन्कुन्नी धोवी र निर्मला कुर्मीमाथि गरिएको अन्याय नेपालको पछिल्लो मानव अधिकार उल्लंघनको गम्भीर घटना हो । दुबै महिलालाई दाइजो नल्याएको निहुँमा चरम यातना दिई हत्या गरिएको घटना सार्वजनिक भएको छ । दुवैलाई गम्भीर मानव अधिकारको उल्लंघन गरी परिवारकै सदस्यको मिलेमतो र योजनामा हत्या गरिएको थियो । यो घटनामा केही हाईप्रोफाइलका व्यक्तिको मिलेमतोमा प्रहरीले अहिलेसम्म गम्भीर अनुसन्धान नगरेको गुनासो रुबी खानहरुको छ । बाँके प्रहरीले मानिस पक्राउ गरी राजनीतिक दबाबमा छाडिएको छ ।

धोवी र कुर्मीको हत्या गर्ने आरोपीलाई प्रहरीले पक्राउ नगरेपछि महिला अधिकार सञ्जालकी अध्यक्ष रुबी खानको नेतृत्वमा १६ जनाको टोली न्याय माग्दै असोज १ गते नेपालगञ्जबाट पैदलै काठमाडौँ हिंडेको थियो । उक्त टोली नेपालगञ्जबाट न्यायको खोजीमा २० दिन लामो पैदलयात्रा गरी २०७८ असोज २१ गते काठमाडौं आइपुगेको थियो ।

न्यायका लागि बाँकेका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिंदा पनि दोषीलाई पक्राउ नगरिएपछि नेपालगञ्ज-काठमाडौंमार्च सुरु गरिएको थियो । नेपालगञ्ज-काठमाडौं मार्चको दबाबपछि सरकारले ६ सदस्यीय छानबिन समिति गठन गर्‍यो । तर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । मुख्य अभियुक्तलाई अझै पक्राउ गरेको छैन । कात्तिक २२ गते समातिएका अभियुक्त पनि सरकारले छोडेको छ । जसले गर्दा पीडितहरुले थप पीडा महसुस गरेका छन् ।

छानबिन प्रतिवेदन गोप्य राखेको प्रहरीले दोषी पत्ता लगाउने र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएको छैन । छानबिन समिति बनेपछि न्याय पाउने आशामा आन्दोलन तोडिए पनि दोषीलाई कानुनी दायरामा नल्याएपछि पुनः अर्को चरणको आन्दोलन गर्न रुबी खानहरु बाध्य भएका छन् । धोवी र कुर्मी हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउन उनीहरु दैनिक कलंकीबाट माइतीघर मण्डलामा पैदलै आउने र दिनभर धर्ना दिएर फर्किने गरेका छन् ।

निर्मला कुर्मीको अपहरण गरी हत्या भएको थियो भने नन्कुन्नी धोवीलाई घरेलु हिंसापछि हत्या गरिएको थियो । नन्कुनी धोवी साउन ६ गते बिहान उनी घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । निर्मला कुर्मीको करोडौँको सम्पत्ति हत्याउन अपहरणपछि हत्या भएको दावी गर्दै २०७७ चैत २० गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिए पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । अपरण हुनुअघि कुर्मीले सभाषद बादशाह कुर्मीका बिरुद्ध पटक पटक आफूमाथि हिंसा गरेको, धम्की दिएको उजुरी दर्ता गरेकी थिइन् । तर प्रहरीले बादशाह कुर्मीलाई पक्राउ नै गर्न सकेको छैन । दुबै घटनामा दोषीलाई सजाय दिलाउन रुबी खानहरु दैनिक धर्नामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७