साझा सभापतिको टुङ्गो लगाउने विषयमा छलफल गर्न नेताहरू पौडेल निवासमा

सभापतिमा उम्मेद्वारी दिने प्रकाशमान र शेखरको अडान कायमै


२४ मंसिर २०७८, शुक्रबार
Ramchandra Poudel

काठमाडौं, २४ मंसिर । कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको अन्तिम प्रयासमा जुटेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापन इतर समूहमा भने अझै पनि निणर्य हुन सकेको छैन ।

संस्थापन इतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।

अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् । त्यसअघि आज बिहान संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरू आफ्ना पक्षबाट सभापति पदमा एउटै उम्मेदवार बनाउन बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसेका थिए ।

पौडेल पक्षीय कांग्रेस नेता बद्री पाण्डेले सभापतिको एउटा मात्र साझा उम्मेदवार तय गर्ने ‘अन्तिम प्रयास’स्वरूप छलफल गरिएको जानकारी दिए । विडम्बना! सभापति पदमा उम्मेदवारीका आकांक्षी भने कोही सहभागी भएनन् । अर्थात् सभापति पदमा उम्मेदवार बन्ने दाबेदारहरू रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला बैठकमा सहभागी नभएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७