देउवाले पौडेललाई सर्वसम्मत सभापतिमा प्रस्ताव गरे पछि हट्छु : विमलेन्द्र निधि


२४ मंसिर २०७८, शुक्रबार
bimalendra nidhi

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गरे आफू सभापतिको दौडबाट पछि हट्ने उनले बताएका छन् । उनले देउवाले पौडेललाई सभापतिमा सर्वसम्मत प्रस्ताव गरे निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।

आफैं सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले शुक्रबार भने, ‘बाहिर जनताको र नेपाली काँग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली काँग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना छ’ ‘शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।’

देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने बताउँदै निधिले भने, ‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नु हुन्छ कि गर्नु हुन्न, थाहा छैन ।’ देउवाले रामचन्द्रलाई समर्थन नगरेको अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी भने अहिलेसम्म कायमै रहेको निधिले बताए । उनले भने, ‘हामीले छोडेको छैन है फेरि । म सभापतिको उम्मेदवार छँदैछु । अरु साथीहरु सभापतिको उम्मेदवार छँदै हुनुहुन्छ । म सभापति पदमा लड्दैछु ।’

देउवासँग असन्तुष्ट निधिले भने, ‘हामी जो नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्दैछौं, यो प्रक्रियामा अझै पनि हामी कायमै छौं । तर, यो शेरबहादुरजीको हातमा छ । उहाँले रामचन्द्रजीलाई प्रस्ताव गर्नुभयो भने धेरै राम्रो हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७