कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सञ्चारमन्त्री कार्कीको घोषणा


२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष गरे। नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

उनले पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताए । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गरे ।

उनले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका उनले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पुर्‍याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गरे ।

उनले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७