कांग्रेस इतर समूहबाट सभापतिमा रामचन्द्र पौडेलको सम्भावना बढ्दै


२४ मंसिर २०७८, शुक्रबार
ramchandra paudel
फाइल फोटो

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको संस्थापन इतर समूह वरिष्ठ नेता रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बनाउने सम्भावना बढेको छ । पौडेल समूहमा केही दिनयता साझा उम्मेदवार तय गर्न पटक-पटक छलफलमा भए पनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेष गरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेललाई भेट्न नेताहरु बोहोराटार पुगेका हुन् ।

मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो भने बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निणर्य भएको छ ।
सोही निणर्यअनुसार नेताहरु पौडेल निवासमा पुगेका हुन् ।

अझै पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेका छैनन् भने अब केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाइने भएको ती नेताको भनाइछ । केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले प्रकाशमानले स्वीकारे आफूलाई पौडेललाई स्वीकार्न गाह्रो नहुने बताएका थिए । तर अहिलेको अवस्थमा आफ्नो नाममै सहमति हुनुपर्ने उनको अडान थियो । यता प्रकाशमान निकै अघि बढिसकेका छन् । उनले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७