प्रचण्डसँग एक वर्ष र माधवसँग पाँच महिनापछि एउटै मञ्चमा भेट हुँदै ओली


२४ मंसिर २०७८, शुक्रबार
oli parchanda nepal2021 12 09 06 24 49

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु आउने क्रम जारी रहेको छ । अहिलेसम्म नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत मञ्चमा आइपुगेका छन् ।

कांग्रेस महाधिवेशनमा शुभकामना दिन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने आउन बाँकी छ ।
ओली आएमा गत पुसयता पहिलो पटक प्रचण्ड र ओली तथा गत असार २३ यता माधव नेपाल-ओलीसँगै एउटै मञ्चमा हुने छन् । ओली प्रचण्डसँग एक वर्ष र माधव नेपालसँग पाँच महिनापछि पहिलोपल्ट एउटै मञ्चमा देखिंदै छन् ।

neta

ओलीसँग प्रचण्ड-माधवको पानी बाराबारको अवस्था छ । नेकपा विभाजित भएपछि ओली र दाहाल अलग अलग पार्टीमा हिँडिसकेका थिए । तर नेकपा खारेज भएपछि ‘घर न घाट’ को अवस्थामा पुगेका नेपालले पनि एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाइसकेका छन् ।

दाहाल र नेपालले अहिले पनि ओलीमाथि आक्रामक भाषण दिइरहेका छन् । नेपालले त आफ्नो नयाँ पार्टीले ओलीलाई अबको चुनावमा पत्तासाफ बनाउने बताइरहेका छन् । अर्कातिर प्रचण्ड पनि पाँच दलीय गठबन्धन बनाएर एमालेलाई कमजोर बनाउने अभियानमा होमिएका छन् । यस्तोमा यही मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको एमालेको महाधिवेशनमा उनी सहभागी भएनन् । अर्थात उनले एमालेको निम्तो बहिष्कार गरेर काभ्रेतिर लागेका थिए ।

यी दुई नेताबीचको तितो सम्बन्धबीच ओली पनि कांग्रेसको महाधिवेशन उद्घाटनमा सहभागी हुने भएका छन् । ओलीका प्रेस संयोजक रामशरण बजागाईंले कांग्रेसको निम्तो स्वीकारेर ओली बालकोटबाट भृकुटीमण्डप जाने बताएका छन् । ’जानु हुन्छ नि, कांग्रेसले दिएको निम्तो नस्वीकार्ने कुरै हुँदैन’, उनले भने, ’उहाँ (अध्यक्ष ओली) केही बिरामी हुनुहुन्छ । रुघा लाग्दा उहाँलाई केही समस्या हुने गरेको छ। अहिले केही सुधार भइसकेको छ । त्यसैले कांग्रेसको महाधिवेशन उद्घाटनमा जानुहुन्छ ।’

एमालेको महाधिवेशनमा चितवन पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना मन्तव्य दिएका थिए । सत्ता साझेदार प्रचण्ड नगए पनि देउवाले एमालेको महाधिवेशनमा सम्बोधन गरेकाले ओली सहभागी हुन लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७