एक्लै हिंड्ने अहंकार देखाउनेको ओरालो यात्रा शुरु हुन्छ : प्रचण्ड

‘एकले अर्कालाई प्रधानमन्त्री बनाउँदा पूर्व प्रधानमन्त्रीको संख्या धेरै’


२४ मंसिर २०७८, शुक्रबार
Prachanda 2

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताएका छन् ।

आज (शुक्रबार) नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष प्रचण्डले राजेन्द्र लिङ्देनले गरेको टिप्पणीको जवाफ दिँदै राजतन्त्र स्थापित गर्न देशका राजनीतिक दलहरुलाई भिलेन देखाउन खोजिएको बताए । सोही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए । उनले राजनीतिक दलका नेताहरुमाथि जनतामा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक नेतृत्व सुध्रिन आवश्यक रहेको बताएका थिए ।

अध्यक्ष प्रचण्डले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिए । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न आग्रह गरेका हुन् । उनले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गराएका थिए ।

अध्यक्ष ‘प्रचण्ड’ ले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए ।

पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’ उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताए । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको र जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७