देउवालाई ओलीको सुझाव : प्रधानमन्त्री मात्र होइन सरकारको नेता बन्नुस्

राजेन्द्र लिङदेनप्रति ओलीको कटाक्ष : भर्खरको बाच्छो हिंड्न जाँन्दैन, बढी कुद्न खोज्छ


२४ मंसिर २०७८, शुक्रबार
oli congress program

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिएका छन् ।
आज (शुक्रबार) नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका हुन् ।

‘शेरबहादुरजीलाई मेरो एउटा सुझाव छ,’ अध्यक्ष ओलीले भने, ‘तपाईं प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् ।’ केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको सरकार भए पनि आफूले सरकारको नेतृत्व गरिरहेको बताएका थिए । यसैलाई संकेत गर्दै ओलीले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउने अभिभारा नेपाली कांग्रेस र नेकपा एमालेको काँधमा आएको बताएका छन् । माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति संकेत गर्दै उनले साना दललाई नेपाली कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्दै प्रश्न समेत गरे । उनले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताएका छन् । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।

‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’, काँग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने । कार्यक्रममा नेतालाई चोरको रूपमा चित्रित गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रति कटाक्ष गरे ।

अध्यक्ष ओलीले अध्यक्ष लिङ्देनप्रति व्यङ्ग्य गर्दै भर्खर हिँड्न जानेको बाच्छोको संज्ञा दिएका छन् । ‘भर्खर-भर्खर अध्यक्ष हुनुभा’को छ क्यारे रापताप होला केही साथीहरुलाई,’ उनले भने, ‘भर्खरको बाच्छो हिड्न जाँन्दैन, बढी कुद्न खोज्छ, अलि समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’ लिङ्देनले गाउँमा जाँदा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए । उनले हरेक राजनीतिक नेतृत्व सुध्रिनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७