ओली जस्तो तानाशाहीलाई हटाइयो, कांग्रेसलाई वहुमत ल्याउने जिम्मा मेरो : देउवा


२४ मंसिर २०७८, शुक्रबार
deuwa 3

काठमाडौं, २४ मंसिर । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डर-त्रासबाट मुक्त समाज निर्माणको निणर्य गर्ने बताएका छन् । १४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डर-त्रासमुक्त शासन ल्याएरै छाड्ने दावी गरे ।

‘साथीहरू तपाईहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डर त्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डर त्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भनेका थिए ।

प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निणर्य गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताए । ‘महाधिवेशनले त्यो निणर्य गर्न सक्नुपर्छ । त्यो निणर्य गरेको खण्डमा गाउँदेखि कैन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने ।

सभापति देउवाले उद्घाटन सत्रको समापन गर्दै मञ्चबाटै भोट समेत मागेका छन् । ‘मलाई एक पटक जिताइ दिनुस्,’ देउवाले भने । देउवाले आगामी चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म आफूहरुकै सरकार हुने बताएका छन् । उनले आफ्नो पहलमा देशलाई केपी शर्मा ओलीको तानाशाही शासनबाट मुक्त गरेको पनि बताए । ‘म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए’, उनले भने, ‘हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७