कांग्रेसमा पुस्तान्तरण कति सम्भव ?


२५ मंसिर २०७८, शनिबार
Congress Bandasatra

काठमाडौं, २५ मंसिर । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवाहरूको बाहुल्य देखिन्छ । १८-१९ वर्षकै युवा पनि प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भइरहेका छन् । तर, महाधिवेशनमा मात्र होइन, केन्द्रीय कार्यसमितिमै पुस्तान्तरण हुनुपर्ने आवाज उठ्ने गरेको छ ।

ताप्लेजुङबाट आएकी महाधिवेशन प्रतिनिधि शिला इजम नेतृत्व लिन युवाहरू आफैं अग्रसर नभएको बताउँछिन् । ‘पुस्तान्तरणका लागि युवाहरू आफैं सक्षम हुनुपर्छ । नेतृत्व सम्हाल्न पनि तयार हुनुपर्छ’, इजम भन्छिन्, ‘युवा जमात पनि पदाधिकारीमै बस्न खोज्छन् । नेतृत्व लिन कोही पनि अघि सर्दैनन् ।’ फरक-फरक पुस्ताको आगमन, उनीहरूको अवधारणा, सोच्ने र अनुभूति गर्ने तरिकाको भिन्नता नै पुस्तान्तरण हो । पुस्तान्तरण एक अनिवार्य तर जटिल प्रक्रिया हो । उमेरसँगै वैचारिक पुस्तान्तरण महत्त्वपूर्ण मानिन्छ ।

कांग्रेसकै युवा नेता प्रदीप पौडेल पुस्तान्तरण र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि पुस्तान्तरणसँगै वैचारिक रूपान्तरण पनि आवश्यक रहेको बताउँछन् । ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया हो । पुस्तान्तरणको विषय विधिबाटै स्थापित हुन्छ ।
पुस्तान्तरणसँगै कांग्रेसमा वैचारिक रूपान्तरण पनि आवश्यक छ’, १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी पौडेल भन्छन्, ‘हामीले समयसापेक्ष रूपमा आफ्ना विचारहरूलाई अध्यावधिक गर्न सकिरहेका छैनौं । युवाहरूले अहिलेको समाजको परिवेश र आवश्यकतासँग हाम्रा मुद्दाहरूलाई जोड्न सक्नुपर्छ । त्यसैले पुस्तान्तरणसँगै वैचारिक रूपान्तरण हुनुपर्छ । वैचारिक रूपान्तरणका लागि युवा पुस्ता अघि सर्नुपर्छ ।’

केन्द्रीय सदस्यका प्रत्याशी उदयशमशेर राणा कांग्रेसमा पुस्तान्तरण भइरहे पनि त्यसको रफ्तार बढ्न नसकेको बताउँछन् । ‘कांग्रेसमा पुस्तान्तरण भइरहेकै छ । तर, जुन गतिमा हुनुपर्ने हो त्यो भने हुन सकेको छैन’, तरुण दलका पूर्वअध्यक्ष राणा भन्छन्, ‘१३औं महाधिवेशनमा पनि धेरै युवाले मौका पाएका थिए । त्यतिबेला युवाहरू केन्द्रीय सदस्यमा मात्रै थन्किए । केन्द्रीय सदस्यमा रहेकाहरूले पनि जुन काम गर्नु पर्ने थियो, त्यो काम गर्न सकेनन् ।’ युवाहरूले पनि युवाका नाममा मत मात्रै लिने काम गरेको उनको ठम्याइँ छ । भन्छन्, ‘परिवर्तनका लागि काम गर्न सकेनौं ।’

पुस्तान्तरलाई छुट्ट्याउने मुख्य आधार उमेर कि विचार भन्ने प्रश्न पनि ज्वलन्त रूपमा उठेको छ । पुस्तान्तरको गति समयसापेक्ष हुन नसके युवा पुस्ता किनारा लाग्ने मात्रै होइन, पुस्तान्तरणको खाडल पनि गहिरिन पुग्छ । अमेरिकाको टेलिभिजन क्षेत्रमा लामो समय बिताएका डोनाल्ड म्याकग्याननले ‘लिडरसिप इज एन एक्सन, नट ए पोजिसन’ भनेका थिए । तर, हामीकहाँ नेतृत्व भनेको पद मात्र हो भन्ने मानसिकता छ । जसकारण बाँचुन्जेल कुर्सीमै टाँसिने प्रवृत्ति छ ।

केन्द्रीय सदस्यका प्रत्याशी जितजंग बस्नेत प्रजातन्त्र र लोकतन्त्रमा मागेर कसैले पनि केही नपाउने, त्यसका लागि जित्नै पर्ने तर्क गर्छन् । ‘प्रजातन्त्र र लोकतन्त्रमा केही पाउन जित्नै पर्ने हुन्छ । मलाई ठाउँ देऊ भनेर कसैले पनि दिनेवाला छैनन्’, एवं नेपाल तरुण दलका अध्यक्ष बस्नेत भन्छन्, ‘युवाहरू आफैंले आफ्नो स्थान सुरक्षित गर्नुपर्छ । युवाको जोस, जाँगर र ऊर्जाको सदपुयोगसँगै पुरानो पुस्ताको योगदानलाई कदर पनि गर्नुपर्छ ।’

महाधिवेशन प्रतिनिधि इजम अग्रजको सम्मानकै लागि युवाले नेतृत्व तहमा हस्तक्षेप गर्न नसकेको बताउँछिन् । ‘हामीले अग्रजको सम्मान गर्नुपर्छ। उनीहरूको सम्मान र अनुभव लिएर नै युवा पुस्ता अगाडि बढ्नु पर्छ’, उनी भन्छिन् ।’ युवा नेता पौडेल उमेरका हिसाबले मात्रै सुविधा प्राप्त गर्ने कुरा स्वाभाविक हुन नसक्ने बताउँछन् । ‘फरक कार्यशैली, फरक रूपमा आफ्नो विचार प्रष्ट्याउने क्षमता र समाजको मागनुरूप विषयहरूलाई परिभाषित गर्न सक्ने क्षमता, प्रखरता र सबैलाई विश्वास दिलाउन सक्ने नेतृत्व हामीलाई आवश्यक परेको छ’, उनी भन्छन्, ‘यी गुणहरूले सम्पन्न नेतृत्व जुनसुकै पुस्ताको भए पनि हुन्छ, त्यो हामीलाई आवश्यक परेको छ ।’

नेता राणा १४औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीको संख्या धेरै भएकाले युवाले पनि उचित स्थान र अवसर पाउने बताउँछन् । ‘पहिला तीन पदाधिकारी मात्रै निर्वाचित हुन्थे। अरू मनोनीत हुन्थे’, उनी भन्छन्, ‘अहिले १४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्थाले युवाहरूलाई पनि पदाधिकारीमा पुग्न सहज भएको छ । १३औं महाधिवेशनमा युवाहरू जुन रफ्तारमा बढेका थिए। १४औं महाधिवेशनमा पनि युवापंक्तिले महत्त्वपूणर् भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास छ ।’

नेता बस्नेत युवाको ऊर्जालाई पार्टीले सक्दो सहयोग गर्नुपर्ने बताउँछन् । ‘युवाहरूको ऊर्जालाई सदुपयोग गर्न सके मात्र स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सफलता हासिल गर्न सकिन्छ’, उनी भन्छन् । हरेक राजनीतिक दलमा पुस्तान्तरणको बहस तीव्र रूपमा उठ्ने गरेको छ । यसको चर्चा अधिवेशन र महाधिवेशनजस्ता नेतृत्व चयनका बेला जोडतोडले उठ्ने गरे पनि अरू बेला भने कहीँ कतै प्रवेश पाउँदैन । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पुस्तान्तरले केही हदसम्म भए पनि चर्चा पाएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा त यो विषय बहसकै विषय बन्यो ।

राष्ट्रिय युवा नीतिअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिन्छ । कुल जनसंख्यामा यो उमेर समूहको हिस्सा करिब ४१ प्रतिशत छ । तर, नेतृत्व तहमा यस उमेर समूहबाट प्रतिनिधित्व हुनेको संख्या नगन्य मात्रै छ । त्यही कारण पनि पुस्तान्तरणको प्रश्न उत्तिकै पेचिलो बनिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७