साझा उम्मेद्वार खोज्ने पौडेलको प्रयास जारी, देउवा-सिटौला समीकरण बन्दै

पौडेल निवास बोहराटारमा इतर समूहका नेता आज विहानैदेखि छलफलमा


२५ मंसिर २०७८, शनिबार
Ramchandra Team

काठमाडौं, २५ मंसिर । सभापतिको साझा उम्मेदवारसहित पदाधिकारी टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले केहीबेरमा बस्दै छ । शुक्रबार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज बिहान ८ बजे बैठक बस्न लागेको हो ।

पौडेल पक्षधर नेताहरु अहिले ८ बजे पौडेल निवास बोहराटार पुग्दै छन् । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापन इतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । शुक्रबार साँझको बैठकमा पदाधिकारीमा को-को उठ्ने भन्नेमा सहमति जुट्न नसकेपछि विहानसम्म आफूले आकांक्षीहरुलाई मिलाउने पौडेलले बताएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम शुरु हुँदैछ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । उम्मेदवारी दर्ताको समय आइसके पनि संस्थापन इतरले आफ्नो साझा टिम बनाउन सकेको छैन ।

नेता प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तीन जनालाई मिलाउने प्रयास वरिष्ठ नेता पौडेलले गरे पनि मनोनयनको समय आइसक्दा पनि सहमति जुट्न सकेको छैन । यो समूहले पदाधिकारीका अन्य उम्मेदवारबारे अझै छलफल गरेको छैन । आज मनोनयन दर्ता गर्नु अघिसम्म पनि सहमतिको प्रयास हुने नेताहरुको भनाइ छ । कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।

देउवा र सिटौलाको समीकरण बन्दै
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज शुरु हुँदैछ । सभापतिसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ । नयाँ नेतृत्वको लागि ४,७४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन् । सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् । महामन्त्रीका लागि संस्थापन समूहमै आकांक्षीहरु धेरै छन् । डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायत नेताहरुले महामन्त्रीमा दाबी गरेका छन् । आठ सहमहामन्त्रीका लागि दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७