भूपू गोर्खालाई समान होइन, भारतले भन्दा १४० प्रतिशत बढी पेन्सन दिन्छौं : बेलायत


२५ मंसिर २०७८, शनिबार
indian army Gorkha Rifles

काठमाडौं, २५ मंसिर । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ । तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रालयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ । सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ।

बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिकलाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन । २१ वर्षपछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।

परराष्ट्रलाई पठायो जानकारी
बेलायती रक्षा मन्त्रालयले लन्डनस्थित नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा यससम्बन्धी जानकारी पठाएको छ । मन्त्रायका एक अधिकारीले बेलायतको उक्त निणर्यबारे जानकारी आएको बताए ।

‘बेलायतले सार्वजनिक गरेको विवरण प्राप्त भएको छ । यसबारे अध्ययन गर्दैछौं’ उनले भने । ती अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक धारणा बेलायती सेनामा काम गरेका पूर्व बेलायती नागरिक सरह नै पेन्सन पाउनु पर्छ भन्ने नै हो ।

बेलायती रक्षा मन्त्रालयले सन् २०२० मा भूतपूर्व गोर्खाहरुसँग पेन्सनलगायत विषयमा राय मागेको थियो । सातौं केन्द्रीय पेन्सन योजना कार्यान्वयन गर्ने उद्देश्यले सुझाव मागिएको थियो ।

सन् २०२० डिसेम्बरपछि बेलायती रक्षा मन्त्रालयले १२ हप्ता सम्म रायसुझाव लिएको थियो । जसमा २९ सुझाव पेस भएका थिए । बेलायती रक्षा मन्त्रालयलाई दिइएका सबैजसो सुझावमा भारतीय सेनामा काम गरेका गोर्खा सैनिकले पाउने गरेको पेन्सन भन्दा २०० प्रतिशत बढी बेलायती सेनामा काम गरेका गोर्खा सैनिकलाई दिन उचित हुने सुझाइएको थियो ।

लन्डनमा रहेका भूपू गोर्खा सैनिकका संगठनले चाहिँ राय परामर्श कार्यक्रम बेवास्ता गरे । बेलायती रक्षा मन्त्रालयले अनलाइन बैठक, इमेल तथा हुलाकबाट राय लिएको थियो । बेलायती रक्षा मन्त्रालयले एक वर्षअघि आएका रायसुझावमा आफ्नो असहमति रहेको बताएको छ । उसले आफूले अघि सारेको प्रस्ताव (भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकले पाउने भन्दा १४० प्रतिशत बढी पेन्सन दिने) नै ठिक रहेको बताएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७