केपी ओली सुध्रिने सम्भावना छैन : माधव नेपाल


२५ मंसिर २०७८, शनिबार
madhav t9rCWbgdFe

रुपन्देही, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । हिटलर जस्तै ओली पनि कहिल्यै नसुध्रिने उनले बताए ।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए । हिटलरलाई श्रीमतीले समेत सुधार्न नसकेको भन्दै उनले ओलीलाई पनि कसैले सुधार्न नसक्ने बताए । उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुनुपर्ने बताए । आफूहरुले गरेको विद्रोह एमालेको चितवनमा भएको महाधिवेशनको तमासाबाट पनि पुष्टि भएको उनले बताए ।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सामन्तवादको भूत जगाउने कोशिस नगर्न चेतावनी दिए । उनले राजतन्त्र संस्थागत रुपमै अन्त्य भइसकेको भन्दै त्यसलाई ब्युँताउने हो भने राणा शासन, दासप्रथा जस्ता पुराना सबै कुरा आउन सक्ने भएकाले त्यतातर्फ लाग्न नहुने बताए ।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । उनले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

काँग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै उनले आफ्ना मन्त्रीहरुलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए । अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पूँजीवाद भएको अध्यक्ष नेपालले बताए । दलाल पूँजीवादले समाजका सबै अंगमा विकृति विसंगति हुर्काएको र दलका नेताहरु समेत यसमा चुर्लुम्म डुबेको उनको भनाइ छ । बुटवलमा पार्टीको प्रदेश कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल बुटवल आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७