रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने, प्रकाशमान र शेखर टिम बनाउँदै


२५ मंसिर २०७८, शनिबार

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।
संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।

पूर्व महामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछि पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

अहिले संस्थापनइतर समूहबाट उमेदवारी दिने अन्तिम तयारीमा रहेका प्रकाशमान सिंह र शेखर कोइराला टिम बनाउन लागिपरेका छन् । शेखर कोइरालाले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री उमेदवार बनाएर अघि बढाउने प्रयास थालेका छन् । तर शर्मालाई सिंहले पनि महामन्त्रीमा उम्मेदवारी दिएर आफ्नो प्यानलमा रहन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । दुवै पक्षसँग शर्माले केही समय पर्खिन आग्रह गरेका छन् ।

शर्माले आफू सभापति देउवाको टिममा नपरेको स्वीकार गर्दै अर्को कुन टिममा रहने भन्नेबारेमा निणर्य नलिएको बताएका छन् । ‘शेरबहादुर दाइको टिममा परिन, महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन’, शर्माले भने ।

पौडेलको समर्थन कसलाई हुने भन्नेबारेमा अहिलेसम्म खुलेको छैन । उनी निटक स्रोतले दिएको जानकारीअनुसार शेखरलाई हुने सम्भावना बढी देखिन्छ । ‘शेखरले यसअघि पनि पौडेलका लागि आफू उपसभापति बस्न तयार रहेको बताइसकेका छन्’, स्रोतले भन्यो, ‘आफ्नो अडानबाट टसको मस नभएका प्रकाशमानलाई समर्थन गर्ने अवस्था अहिलेसम्म देखिन्न ।’ सिंहले महेश आचार्यलाई पनि उपसभापतिमा राख्न तयार रहेको बताउँदै प्रस्ताव गरेको बुझिएको छ । आचार्यले पनि टिम मिलाउन लागिपरेको हुँदा केहीबेर पर्खिन आग्रह गरेको स्रोतले जानकारी दियो ।

‘अर्जुन नरसिंह केसी, रामशरण महतलगायतका नेताले शेखर कोइरालालाई स्वीकार गर्न पनि सकेका छैनन्, प्रकाशमान सिंहलाई समर्थन गर्न पनि सकेका छैनन्’, एक नेताले भने, ‘यस्तो अप्ठेरो अवस्थामा कसलाई कसरी समर्थन गर्ने भन्नेबारेमा केही निणर्य भइसकेको छैन ।’ नेता कोइरालाले पौडेल सर्वसम्मत नहुने अवस्थामा आफूले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७