चर्चामा रहेर पनि पौडेल र सिटौलासहित खड्काले पनि दिएनन् कुनै पदमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार
3nc1639223024

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् । शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा उनीहरुले उम्मेदवारी दर्ता नगराएका हुन् । पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।

पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए । महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए । उनले सडकबाटै पार्टीलाई सहयोग गर्ने बताएका थिए ।

पौडेल सभापतिका तीव्र आकांक्षी थिए । त्यति मात्रै होइन उनी टिमको नेतृत्व समेत गर्थे । बेला बेलामा देउवाले गरेका कामको खुलेर आलोचना गर्न सक्ने हैसियत पनि राख्थे । तर उनै पौडेल कांग्रेसको १४औँ महाधिवेशनको दौडबाटै बाहिरिएका छन् । उनले आफू कुनै पनि गुटमा नलागी राजनीतिबाट टाढा रहने बताउँदै आएका थिए ।

तर टिमभित्रको दबाबले गर्दा अहिले कुनै पनि पदमा उम्मेदवारी नदिने पछि निणर्य गर्ने गरी पौडेल थामिएका छन् । पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै भने, ‘मैले कांग्रेसलाई जुनरुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेस विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेसलाई आज केवल सत्ताको भर्‍याङमा सीति हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’ उनले आफू अहिलेको मझदारबाट बाहिरिएको पनि बताएका छन् ।

त्यस्तै कांग्रेसमा सभापतिको आकांक्षा राखेका अर्का नेता थिए कृष्णप्रसाद सिटौला । उनी पनि १४औं महाधिवेशनमा उमेदवारी नदिने नेतामा पर्छन् । उनले आफ्नो टिमका लागि सभापति शेरबहादुर देउवासँग ‘बार्गेनिङ’ गरेर महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु प्यानलमा पार्न सफल भए पनि आफूले भने उम्मेदवारी दिएनन् ।

उनी पहिले सभापतिको आकांक्षी थिए भने पछि देउवाको उपसभापति रहेर पार्टीलाई अघि बढाउने योजनामा थिए । तर महामन्त्रीमा प्रदिप पौडेललाई अघि सार्दै देउवाको प्रस्तावक बस्न तयार भएका छन् । अर्का नेता डा. नारायण खड्का पनि यसअघि पदाधिकारीको चर्चामा थिए । परराष्ट्रमन्त्री समेत रहेका खड्काले पनि कुनै पदमा उमेदवारी दिएनन् । उनका स्वकीय सचिवले दिएको जानकारीअनुसार खड्काले केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७