दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई तेस्रो डोज दिन सिफारिस


२६ मंसिर २०७८, आईतवार
korona khop
फाइल फोटो

काठमाडौं, २६ मंसिर । राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोनाविरुद्ध दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकलाई तेस्रो डोज दिन सरकारलाई सिफारिस गरेको छ । यो समूहमा पर्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दोस्रो डोज लगाएको तीन महिना पूरा भएकालाई तेस्रो डोज लगाउन सिफारिस गरेको हो ।

‘रोगप्रतिरोधी क्षमता कमजोर हुने दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई भेरोसेलको तेस्रो डोज दिन हामीले सरकारलाई सिफारिस गरिसकेका छौँ,’ समिति संयोजक डा. रमेशकान्त अधिकारीले भने, ‘अब सरकारले निणर्य गरेपछि लक्षित समूहमा पर्ने व्यक्तिले थप एक मात्रा भेरोसेल खोप पाउँछन् ।’

तेस्रो डोज पाउने दीर्घरोगीको सूचीमा चार प्रकारका बिरामीलाई समेटिएको छ । क्यान्सर लागेका, अंग प्रत्यारोपण गरेका, एचआइभी संक्रमित र लामो समयसम्म औषधि सेवन गर्नुपर्ने बिरामी छन् । समितिले कोभिसिल्ड, फाइजर र जोन्सनलगायत खोप लगाएकाको हकमा भने तेस्रो डोजको सिफारिस गरेको छैन ।

भेरोसेल खोपले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिमा रोगप्रतिरोधी क्षमता विकास गर्न नसकेकाले तेस्रो मात्रा दिन आवश्यक भएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक कणर्ले बताए । ‘सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप दिन सकिन्छ । तर, सरकारले कहिलेबाट दिने भनेर निणर्य गरेको छैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले पनि भेरोसेलको तेस्रो डोज लगाउन मिल्ने जनाइसकेको छ । तर, दोस्रो डोज लगाएको कति समयपछि तेस्रो दिने भनेर मिति सिफारिस गरेको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७