बहुपक्षीय प्रतिस्पर्धा


२६ मंसिर २०७८, आईतवार
Deuwa Team

काठमाडौं, २६ मंसिर । भावी नेतृत्वका लागि कांग्रेसमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि चार समूहगत र दुई स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । तर, सभापतिका उम्मेदवारहरूले शनिबार रातिसम्म उम्मेदवारी फिर्ताबारे कुनै संकेत दिएका छैनन् ।

संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बनेका छन् भने इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपाने पनि उम्मेदवार बनेका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मत गणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ ।

देउवाले नेता कृष्णप्रसाद सिटौलाको समूहलाई पनि समेटेर प्यानल बनाएका छन् । यो समूहले पहिलो चरणमै जित निकाल्ने रणनीति बनाएको छ । उता सिंह, कोइराला र निधिले सकेसम्म चुनावी प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीति अख्तियार गरेका छन् ।

देउवा-सिटौलाको समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूणर्बहादुर खड्का उम्मेदवार बनेका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दिएका छन् । कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई अगाडि सारेका छन् । त्यस्तै, सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी साह र महामन्त्रीमा डा. राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

आठ सहमहामन्त्रीका लागि देउवा-सिटौलाको प्यानलबाट उमाकान्त चौधरी (थारू), मानबहादुर विश्वकर्मा (दलित), भीष्मराज आङ्देम्बे (जनजाति), डिना उपाध्याय (महिला), महेन्द्र यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम), जीवन शाही (पिछडिएको क्षेत्र) र किशोरसिंह राठौर (खस-आर्य)ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा देवराज चालिसे (खस-आर्य), बद्री पाण्डे (पिछडिएको क्षेत्र), जीवन परियार (दलित), कमला पन्त (महिला), विकास लामा (जनजाति), रामकृष्ण यादव (मधेसी), तेजुलाल चौधरी (थारू) र वकिल मियाँ (अल्पसंख्यक)ले उम्मेदवारी दिएका छन् । निधिले सहमहामन्त्रीमा चेतराज बराललाई अगाडि सारेका छन् ।

यस्तो अवस्थामा हुन्छ दोस्रो मतदान
कांग्रेस विधानको दफा १६ मा केन्द्रीय सभापतिको निर्वाचनबारे व्यवस्था छ । दफा १६ (ख)ले ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था गरेको छ ।

दफा १६ (ग)मा पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ । तर, पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।

फुट्यो इतर समूह, कोइराला परिवार पनि विभाजित
सर्वसम्मत सभापतिको उम्मेदवार चयन गर्ने प्रयास सार्थक नभएसँगै संस्थापनइतर समूह विभाजित भएको छ । इतर समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइरालाले भिन्दाभिन्दै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

१३ औं महाधिवेशनमा एकैठाउँ रहेका कोइराला परिवारका सदस्यहरू १४औं महाधिवेशनमा विभाजित भएका छन् । इतर समूहबाट शेखरले आफ्नै नेतृत्वमा प्यानल बनाउँदा सुजताले भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र मनोनयन गरेका छन् । उनले शेखरको प्यानललाई सहयोग गर्ने भएका छन् ।

केन्द्रीय सदस्यमा मनोनयन गरे यी पदाधिकारीले
महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री सुनील थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । शशांक १३औँ महाधिवेशनका निर्वाचित महामन्त्री हुन् भने थापा पार्टी एकतापछि मनोनीत सहमहामन्त्री हुन् ।

बदलियो समीकरण
१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाका समूह थिए । उनीहरू तीनै जना सभापतिका दाबेदार थिए । तर, दोस्रो चरणमा देउवा-सिटौलाबीच समीकरण बनेपछि देउवा विजयी भएका थिए । १३औँका सभापतिका दाबेदार पौडेल १४औँमा केन्द्रीय सदस्यमा समेत उठेनन् ।

१३ औंमा पौडेल समूहमा रहेका प्रकाशमान र शेखरले भिन्दाभिन्दै प्यानल बनाएर सभापतिमा उम्मेदवारी दिएका छन् । उपसभापति विमलेन्द्र निधिले देउवासँग अलग भएर सभापतिमा उम्मेदवारी दिएका छन् । सिटौलाले अहिले भिन्दै प्यानल बनाएनन्, सुरुमै पदाधिकारीमा एक महामन्त्री र एक सहमहामन्त्री पद लिएर देउवासँग समीकरण गरे । सिटौलाले केन्द्रीय सदस्यमा समेत मनोनयन गरेनन् ।

संस्थापनमा असन्तुष्टि
उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा बनेका समीकरणले संस्थापन पक्षमा असन्तुष्टि देखिएको छ । यो समूहबाट महामन्त्रीमा आकांक्षा गरेका विश्वप्रकाश शर्मा प्यानलमा अटाउन नसकेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । त्यस्तै संस्थापन पक्षबाटै पदाधिकारीको आशा गरिरहेका नेता एनपी साउद प्यानलमा अटाएनन् ।

असन्तुष्टिस्वरूप उनले वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । महामन्त्रीका आकांक्षी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाण पनि असन्तुष्ट बनेका छन् । दुवैले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले एक्लै सभागृह पुगेर केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेता साउदलाई उनका समर्थकले कि त स्वतन्त्र, कि प्रकाशमानको प्यानलबाट पदाधिकारीमा स्वतन्त्र रूपमा उम्मेदवारी दिन दबाब दिएका थिए । तर, उनले धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापति लडेकाले उनीहरूको विरुद्ध उम्मेदवारी नदिने जवाफ दिएका थिए । नेता प्रकाशमान सिंह, सुजाता कोइराला र विश्वप्रकाश शर्माले साउदलाई आफ्नो प्यानलबाट पदाधिकारीमा उठ्न आग्रह गरेका थिए । तर, साउदले भविष्यको राजनीतिका लागि भन्दै सिंह प्यानलमा जान मानेनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७