अनि पौडेल रोए…


२६ मंसिर २०७८, आईतवार

काठमाडौं, २६ मंसिर । गरुंगो मन, मलिन अनुहार अनि, टिल्पिल आँखा । केहीबेर यताउति हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन ।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो । त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला ।’

पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झण्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गरेका वरिष्ठ नेता पौडेल भने ‘निराशा’ व्यक्त गर्दै थिए । चित्त दुःखाइरहेका थिए ।

पौडेलको अरूसँग नभै, ‘आफ्नै’ प्यानलका नेताहरूसँग चित्त दुःखाइ थियो, असन्तुष्टि थियो । पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो । सबै मिले आफूले मान्ने, नभए आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो । तर, पौडेलले सोचेजस्तो न साझा उम्मेदवार बन्ने स्थिति बन्यो, न त पौडेललाई नै ‘अन्तिम’ उम्मेदवार बन्ने मौका दिइयो । ‘प्यानल’ भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिएनन्, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी भएनन् ।

झण्डै ६ दशक सम्पूणर् जीवन कांग्रेसकै राजनीतिमा समर्पित गरेका वरिष्ठ नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्नका लागि मैदानमा उत्रिने यो ‘अन्तिम’ अवसर थियो । समकालीन देउवा पटक-पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य छन् ।

१४औं महाधिवेशनमा त पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिए । शशांक कोइराला ‘लचिलो’ बने पनि शेखर कोइराला र प्रकाशमान सिंहले अड्डी कसे। त्यही कारण, पौडेलले सभापतिको उम्मेदवार नबन्ने घोषणा गरे । झण्डै ७७ वर्षीय पौडेललाई आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ‘ढिला भइसक्ने’ विश्लेषण गरिँदैछ ।

पौडेल यस पटक पनि सभापति नबनेका कारण आगामी दिनमा पार्टी र सरकारमा ‘फस्ट म्यान’ बन्ने सम्भावना अन्त्य भएको उनी निकट नेताहरू बताउँछन् । पौडेलले शीर्ष नेताले गरेको त्याग र संघर्ष निरर्थकमा परिणत भएको गुनासो गरिसकेका छन् । उम्मेदवार नबन्ने घोषणापछि पौडेलले प्रेस विज्ञप्ति नै जारी गरी कांग्रेसमा ‘विचलन’ आएको टिप्पणी गरेका छन् ।

‘पार्टीमा संघर्ष, नैतिकता र संस्कारले जुन महत्व पाउनुपर्ने हो, त्यो नभएका कारण पौडेलजीमाथि अन्याय भयो,’ उनी निकट कांग्रेस नेता मधु आचार्यले भने, ‘राजनीतिक मूल्य र सम्मानको पुँजी खस्कियो।’ झन्डै १३ वर्षको जेलजीवन, लामो त्याग र संघर्षशील पौडेल राजनीतिमा यस्ता ‘अभागी’ पात्र हुन्, जसले कहिल्यै फस्ट म्यान हुने मौका पाएनन्। विगतमा गिरिजाप्रसाद कोइराला सभापति हुँदा पौडेल ‘सेकेन्ड म्यान’ भएर काम गरे । २०५९ सालमा कांग्रेस विभाजन हुँदा पौडेललाई कांग्रेस प्रजातान्त्रिकको ‘फस्ट म्यान’ बन्ने अफर देउवाले गरेका थिए । देउवाको प्रस्ताव अस्वीकार गरे, पौडेल कांग्रेसमै बसे । २०५१ सालमा सभामुख बने बाहेक पौडेलले कार्यकारी भूमिका कहिल्यै पाएनन् ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बने । १३औं महाधिवेशनबाट उनि ‘कार्यवाहक’ को फुर्को हटाउन चाहन्थे। तर, देउवासँग पराजित भए । त्यसपछि पार्टी र सरकारको नेतृत्व एकल रूपमा देउवाले गर्दै आएका छन् । पौडेलले २०४८ सालमै संसदीय चुनाव जितेका थिए । २०६२ सालमा पार्टीको महामन्त्री बनिसकेका थिए । २०६४ सालमा कांग्रेसको उपसभापति बने । यसबीचमा उपप्रधानसहित विभिन्न मन्त्री बन्ने मौका पाए ।

पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक गरी १३ वर्ष त उनले जेलजीवनै बिताएका थिए । २०६७ सालमा पौडेल पहिलोपटक प्रधानमन्त्रीको उम्मेदवार बने । प्रधानमन्त्रीका लागि संसद्मा १७ पटकसम्म मतदान भयो, पौडेलले बहुमत जुटाउन सकेनन् । जति गर्दा पनि परिणाम ननिस्केपछि त्यतिबेला चुनावी प्रक्रिया नै रद्द गरियो र दोस्रो प्रक्रियाबाट तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भए ।

पार्टीभित्र नीतिगत र वैचारिक नेताका रूपमा चिनिन्छन्, पौडेल । १४औं महाधिवेशनको उद्घाटन सत्रमा पनि उनले अरूको जस्तो तडकभडक भाषण गरेनन्। कांग्रेसलाई कसरी सबल बनाउने, पार्टीको नीति र कार्यक्रम के हुने ? किसानका समस्या कसरी समाधान गर्ने भन्नेमा पौडेलले जोड दिएका थिए ।

राजनीतिमा पौडेल ‘चतुर खेलाडी’ मानिँदैनन् । ‘सानो चित्त’ र दाउपेचमा खेल्न नसकेकै कारण पौडेल ‘फस्ट म्यान’ बन्न नसकेको उनी निकट नेताहरू बताउँछन् । बीपी कोइरालासँग निकट रहेर काम गरेका पौडेल सधैं कोइराला निकटै रहेर काम गरेका थिए ।

र, कांग्रेसभित्र पौडेल कहिल्यै पनि गुट नबनाउने नेताका रूपमा चिनिन्छन् । पार्टीमा आफ्नो ‘स्थायी गुट’ नभएकै कारण पौडेलले यसपटक विभिन्न पक्ष जोडिएर बनेको ‘देउवा इतर गुट’ बाट साझा उम्मेदवार स्वीकार नगरिएको नेताहरू बताउँछन् । ‘सिद्धान्त, निष्ठा, विचारभन्दा गुटले चाँडो फल दिने रहेछ,’ आचार्य भन्छन्, ‘गुटबाहेक अरू नहेर्ने प्रवृत्ति पुरस्कृत भयो ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७