१९ लाख मोडेर्ना खोप आज नेपाल आउँदै, कहिलेसम्म कतिले लगाइसके ?


२६ मंसिर २०७८, आईतवार
korona khop 1 1 scaled 1

काठमाडौं, २६ मंसिर । कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा आज (आइतबार) १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने भएको छ । गत बिहीबार र शुक्रबार गरी ३६ हजार ६ सय मात्रा (डोज) मोडर्ना खोप आइसकेको छ । सरकारले यो खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरेको छ । देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य विभागले जनाएको छ ।

हिमाली जिल्लामा सय भन्दा बढी विद्यार्थी भएको विद्यालय र बाँकी जिल्लामा २ सय बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ । तर फाइजर खोप लगाउन शुरु गरिएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा भने मोर्डनाको खोप लगाईने छैन । ती जिल्लाहरुमा फाइजरको थप खोप आएपछि पुनः खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।

अहिलेसम्म कतिले लगाइसके खोप ?
नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेसम्म कोरोना भाइरसविरुद्धको दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको जानकारी दिए ।

त्यसमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । खोप अभियान शुरु भएदेखि अहिलेसम्म सबभन्दा बढी गएको शुक्रबार धेरैले खोप लगाएका छन् । शुक्रबार एकै दिन तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप अहिलेसम्म नेपाल आइपुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७