देउवाको आग्रह : मैले हारे प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मलाई जिताउनुस्


२६ मंसिर २०७८, आईतवार
thumb 6

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । आधिवासी जनजाति समुदायको प्रतिनिधिद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गरेका हुन् ।

आधिवासी जनजाति विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिवासी जनजाति समुदायका प्रतिनिधिको छलफल आयोजना गरेको थियो । छलफलमा बोल्दै सभापति देउवाले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका छन् ।

‘मैले हारें भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइ दिनु होला ।’, सभापति देउवाले भने, ‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, ‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’ लैनचौरमा आयोजित भेलामा देउवा पक्षका कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र उम्मेदवारहरु सहभागी छन् ।

उक्त भेलामा उपसभापति पदका उम्मेदवार पूणर्बहादुर खड्का, महामन्त्री पदका उम्मेदवार प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुको उपस्थिति छ । नयाँ नेतृत्वका लागि देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूणर्बहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

यस्तै, सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौधरी पनि सिटौला खेमाका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७