कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता


२६ मंसिर २०७८, आईतवार
1639283192 congress chunab 1200x560 1

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् ।

पार्टीको निर्वाचनस्थल बाहिर पद्यमोदय सडक तथा भृकुटीमण्डपभित्र आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन् । उनीहरु नेताको व्यानर, ‘स्ट्याचु’ र श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन् ।

भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ । यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् । काठमाडौँका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन् । यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् ।

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सभापतिका उम्मेदवार देउवा र डा कोइरालाले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् भने निधि, सिंह, गुरुङ र न्यौपानेले पूरा प्यानल बनाएका छैनन् । उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, दाबी विरोधउपर निणर्य र उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबारै गरिसकिएको छ । यस्तै मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ। महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७