कांग्रेसलाई गुटको धमिराले खायो, न विचार छ, न सिद्धान्त : महेश आचार्य


२६ मंसिर २०७८, आईतवार
mahesh

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको उपसभापतिमा मनोनयन दर्ता गराएका नेता महेश आचार्यले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन दिन आफू चुनावी मैदानमा होमिएको बताएका छन् ।

आज (सोमबार) महाधिवेशन प्रतिनिधिहरूका लागि एक चिठी लेख्दै आचार्यले कांग्रेसलाई गुटबन्दीको धमिराले खाइसकेको पनि बताएका छन् । ‘मेरो उम्मेदवारी पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्नु हो’, उनले भनेका छन्, ‘गुटबन्दीको धमिराले खाइरहेको संगठनको शक्तिलाई जोगाउनका लागि हो । निष्ठाको राजनीति गर्ने साथीहरुको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो ।’

Mahesh acharya hvaHj8I8zc

उनले देश अहिले गम्भीर संकटमा परेको पनि बताएका छन् । ‘लोकतन्त्रका स्तम्भ संसद, सरकार र न्याय क्षेत्र प्रभावहीन र अस्तव्यस्त छन् । कोरोना महामारी र जलवायु संकटको दोहोरो मारबाट जनताको जीवन, रोजगारी र समग्र अर्थ व्यवस्था धरापमा परेको छ ।’
आचार्यले चीन र भारतबीचको बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय तनावको भूमरीमा देश फस्दै गएको पनि बताएका छन् । आचार्यले देश गम्भीर राष्ट्रिय संकटमा फस्दा पनि कांग्रेस भने विचार शून्य हुँदै गएको पनि गुनासो गरेका छन् ।

‘राष्ट्रिय संकटको यस्तो घडीमा हाम्रो पार्टी विचार शून्य भयो । नीतिगत बहस र अग्रसरतामा चुक्यो भने राष्ट्रको अस्मिता जोखिममा पर्न सक्छ’, उनले भनेका छन्, ’मेरो उम्मेदवारी यो संकटबाट देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रित छ ।’

उनले मतदातालाई विचार र गुट एक रोज्न पनि अपिल गरेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईंको विवेकले उचित निणर्य गर्नेछ’, उनले भनेका छन् । आचार्यले आइतवार कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका थिए । कांग्रेसका कुनै पनि गुटमा नसमेटिएपछि उनले एक्लै उपसभापति लड्ने निणर्य लिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७