पार्टीको नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन सुदृढ बनाउँछौं : शेखर कोइराला

‘मेरो घरमा निगरानी गर्न देउवाले गुप्तचर पठाए’


२६ मंसिर २०७८, आईतवार
shekar koirala252021 12 12 06 51 16

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताएका छन् ।

‘यो सरकारलाई अझ सुदृढ बनाएर, सत्ता गठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने हो । अर्ली निर्वाचन भन्ने कुरा आउँदैन,’ उनले भने । उनले यो अधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए ।

आइतबार साँझ आयोजिक पत्रकार सम्मेलनमा उनले एउटा व्यक्ति नरहने बित्तिकै अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी भएको बताए । उनले रामचन्द्र पौडेल र शशांक कोइरालाको आशिर्वाद आफ्नो समूहलाई भएको बताए । पार्टीको निर्वाचन राज्यसत्तासँग पनि गाँसिएर आउनु नेपाली कांग्रेसका लागि दुःखद भएको उनको भनाइ छ । असल नेपाली कांग्रेस बनाउने कल्पनालाई अगाडि बढाउन आफ्नो टिम सक्षम भएको उनले बताए ।

निर्वाचनको दौरान गृह प्रशासनले कसरी काम गर्‍यो भन्ने भनिरहनु नपर्ने उनले टिप्पणी गरे । वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिको उम्मेदवार बनाउन नसकेपछि आफू सभापतिमा उठेको उनले बताए । ‘मैले उहाँलाई छोडेको हो तर उहाँको नाममा सहमति हुन सकेन म पनि उठें भनेर भने । उहाँलाई म अत्यन्त सम्मान गर्छु,’ कोइरालाले भने । महाधिवेशनपछि पार्टीमा गुट उपगुटको अन्त्य गर्दै पार्टीमा मौलाएको भागबन्डाको संस्कृतिको अन्त्य गर्ने उनले बताए ।

देउवाले आफूले नजिते आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने डर रहेको आइतवारै अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा कोइरालाले भने, ‘गठबन्धन सरकार जान्छ भन्ने कुरा गर्नुभयो । हामी एउटै समूहमा हौं । पार्टी हो, नेतृत्वका लागि हाम्रो स्वस्थ प्रतिस्पर्धा हुँदैछ । उहाँले जुन कुरा बोल्नुभयो अत्यन्तै गैरजिम्मेवार कुरा बोल्नुभयो । नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । तर गठबन्धन सरकार कायम रहन्छ र त्यसलाई अझै दरिलो बनाएर लैजान्छौं । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं ।’

कोइरालाले महाधिवेशनका क्रममा बसुन्धरास्थित आफ्नो निवासमा देउवाले गुप्तचर पठाएर निगरानी गर्न लगाएको पनि खुलासा गरेका छन् । कार्यकर्तालाई सम्बोधनपछि पत्रकारहरुले उनलाई घरमा निगरानी गर्न गुप्तचर पठाएको बारे प्रश्न गरेका थिए । ‘तपाईंको घरमा देउवाले गुप्तचर पठाएको हो ?’, पत्रकारले यति सोधिसकेपछि उनले जवाफमा भने, ‘म यति भन्न चाहान्छु कि तपाईंको प्रश्न सही छ । त्यो कुरा सत्य हो, म अहिले यति नै भन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७